काठमाडौं, भदौ २८ । बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारबाही गर्न माग गरिएको छ ।
रिपोटर्स् क्लब नेपालद्वारा बिहीबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका हुन् ।
निर्मलाका बुवा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गरे ।
‘प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ । तर, दुःख पर्दा प्रहरीबाट असहयोग हुन्छ’–उनले भने ।
छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाकाबारेमा अनुसन्धान गर्न आलटाल गरेको उनले आरोप लगाए ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औं दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौं आएको बताइन् ।
‘जसरी पनि हामीलाई न्याय चाहिएको छ । कन्चनपुरमा न्याय नपाएर हामी यहाँ आएका हौं’–उनले भनिन् ।
मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छेमात्र राखेर घटनाको प्रमाण नस्ट गर्न खोजिएको आरोप लगाइन् । उनले पीडित परिवारलाईसमेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गरिन् ।
अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाइन् ।
मानवअधिकारकर्मी माया नेगी, अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन÷तीनओटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए ।
निर्मला साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटनाबाहिर आएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्