Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


दूरसञ्चार सेवाको गुणस्तर मापदण्ड कार्यान्वयन कुनै बहानामा छुट हुँदैनः प्राधिकरण


0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

बिहीवार काठमाडौंमा आयोजित दूरसञ्चार सेवाको वर्तमान अवस्था र सञ्चार सेवाको गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवा प्रदायकहरूले तोकिएको मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्राधिकरणले निर्धारण गरेका गुणस्तरसम्बन्धी मापदण्ड पूरा गर्नु सेवा प्रदायकहरूको अनिवार्य दायित्व भएको स्पष्ट पार्नुभयो ।

मापदण्ड कार्यान्वयनमा कुनै बहाना वा छुट स्वीकार्य नहुने उहाँको भनाइ छ । सेवा प्रदायकहरुले गुणस्तर सुधारका योजना बनाएपनि कार्यान्वयनमा अझै कमजोरी देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले सेवा प्रदायकहरूलाई प्रत्येक आर्थिक वर्षमा गुणस्तर सुधार योजना (क्वालिटी इम्प्रुभमेन्ट प्लान) पेस गर्न लगाउँदै आएको छ । उक्त योजनामा टावर थप्ने र फ्रिक्वेन्सी प्रयोग विस्तार गर्ने प्रतिबद्धता आएपनि कार्यान्वयनमा भने अपेक्षित प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले अघिल्लो आर्थिक वर्षमा सेवा प्रदायकहरूले देशका विभिन्न क्षेत्रमा गरेको ड्राइभ टेस्टको प्रतिवेदन प्राधिकरणमा प्राप्त भएको जानकारी दिनुभयो । ड्राइभ टेस्ट गर्दा सहरी, ग्रामीण, तराई तथा दुर्गम हिमाली क्षेत्र समेट्नुपर्ने व्यवस्था रहेको उहाँको भनाई छ । देशभर एकैपटक ड्राइभ टेस्ट गर्न सम्भव नभएकाले कम्तीमा ८०० देखि ९०० किलोमिटर क्षेत्र समेटेर परीक्षण गर्नुपर्ने र त्यसमा सबै भौगोलिक क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने प्राधिकरणको मापदण्ड रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गुणस्तरको लागि हामीले ड्राइभ टेस्ट गर्नुपर्ने प्रावधान बनाएका छौँ । यो ड्राइभ टेस्ट अब देशैभरि एकैचोटी गर्न त सकिँदैन । कम्तीमा ८०० देखि ९०० किलोमिटरको वरपरसहरी क्षेत्र, ग्रामीण क्षेत्र, तराई क्षेत्र र विकट हिमाली एरिया सबै समेटिने तरिकाले सेवा प्रदायकहरूले आफैले गर्नुपर्छ । त्यसरी ड्राइभ टेस्ट गरेर प्राधिकरणमा रिपोर्ट गर्नुपर्ने आवश्यकता छ । यस्तै सेवाग्राहीको गुनासोलाई पनि सम्बोधन गर्न आवश्यक छ । एनटीएमा गुनासो त्यति प्राप्त भएको जस्तो छैन, शुरुमा सेवा प्रदायकमा कम्प्लेन गर्ने हो, त्यहाँ सुनुवाई नभएपछि हामीकहाँ आउने भनेर कानूनी व्यवस्था छ, हामीले त्यसरी नै अवेयर पनि गरेको अवस्था हो । तर कम्प्लेनको हिसाबले डाटामा अलि बढि देखिन्छ । पछिल्लो आर्थिक वर्ष २०८२–८३ मा ३३९ ३३९ वटा डाटाको र ९६ भ्वाइसका कम्प्लेन आएको अवस्था छ । प्राधिकरणमा आएका सबै कम्प्लेनहरू हामीले कम्प्लेन ह्याण्डलिङ सिस्टममार्फत सेवा प्रदायकलाई निर्देशन दिएर त्यो समाधान भएको अवस्था छ, अब यो पर्याप्त छैन, सोसल मिडियातिर हामीले देख्न सक्छौँ । त्यहाँ कमेन्टहरू लेख्या हुन्छ, त्यो पनि एउटा फिडब्याक हो । सेवा प्रदायकले त्यसलाई पनि हेर्नुपर्ने हुन्छ, अरू माध्यमबाट पनि आउँछ । सेवाग्राहीको गुनासो सम्बोधन गर्न विशेष ध्यान दिनुपर्छ । हामीले सेवाप्रदायक संग आउने वर्ष केके प्लान छ, क्वालिटी सुधार गर्नको लागि भनेर क्वालिटी इम्प्रुभमेन्ट प्लान माग्ने गरेका छौँ, अघिल्लो आ.व. मा पनि माग्यौँ, यो आ.व. मा पनि माग्यौँ । उहाँहरूले यति टावर थप्ने अनि यो फ्रिक्वेन्सी थप प्रयोग गर्ने भनेर आफ्नो प्लान त दिनुभएको छ तर इम्प्लिमेन्टेसनमा स्टिल ग्याप छ । त्यो ग्याप हुनु भएन । सेवा प्रदायकहरूलाई म विशेष आग्रह के गर्न चाहन्छु भने प्राधिकरणबाट तोकिएको मापदण्डमा दायाँबायाँ गर्ने छुट छैन, त्यसमा अगाडि बढ्नैपर्छ ।’

उहाँले सेवाप्रदायकहरुलाई सेवाग्राहीको गुनासो सम्बोधन गर्न पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्राधिकरणमा दूरसञ्चार सेवासम्बन्धी उपभोक्ता गुनासो कम आउने भएपनि सेवा प्रदायक संस्थामा भने अत्याधिक आउने गरेको आफूहरुले जानकारी पाएको उहाँको भनाई छ ।

सामाजिक सञ्जालमा आएका गुनासोलाई पनि तदारुकताका सथा सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणमा ३ सय ३९ वटा डेटा सेवासम्बन्धी र ९६ वटा मोबाइल भ्वाइस सेवासम्बन्धी गुनासो दर्ता भएका थिए ।

प्राधिकरणमा प्राप्त सबै गुनासोलाई कम्प्लेन ह्यान्डलिङ सिस्टममार्फत सम्बन्धित सेवा प्रदायककहाँ पठाएर समाधानका लागि निर्देशन दिने गरिएको उहाँको भनाई छ । सेवासम्बन्धी समस्या भएमा सुरुमा सम्बन्धित सेवा प्रदायककहाँ गुनासो गर्नुपर्ने र त्यहाँबाट सुनुवाइ नभए मात्र प्राधिकरणमा आउने कानुनी व्यवस्था रहेको अर्यालले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल तथा अन्य माध्यममा उपभोक्ताका गुनासा देखिने गरेपनि ती सबै औपचारिक प्रणालीमा दर्ता नहुने गरेको बताउनुभयो । दूरसञ्चार सेवा अहिले अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेकाले सेवा प्रदायकहरूले उपभोक्ताका गुनासालाई गम्भीरतापूर्वक लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्राधिकरणले पनि नयाँ प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासअनुसार दूरसञ्चार सेवाको गुणस्तर मापन गर्ने प्रमुख कार्यसम्पादन सूचक (केपीआई) तथा मापदण्डलाई समयानुकूल परिवर्तन गर्दै जाने उहाँको भनाई छ ।