२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


पशुपतिमा यस्तो देखियो तीजको रौनक (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ २७ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज । शिवका मन्दिरहरुमा बुधबार महिलाहरुको निकै भीडभाड रहेको छ ।

हिन्दु नारीहरु नाचगान, पूजापाठ र ब्रत बसेर हर्षाेल्लासपूर्वक तीज मनाइरहेका छन् ।

पौराणिककालमा हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी निराहार तपस्या गरेको र भगवान् शिवलाई पतिकारुपमा पाएको धार्मिक विश्वास रहिआएको छ ।

यसैको निरन्तरतास्वरुप हिन्दु महिलाहरुले तीज पर्व मनाउने गर्दछन् । समयक्रमसँगै यो पर्व अब धार्मिकस्वरुपमामात्र रहेन । पछिल्लो समय नारीहरुले यसलाई आफ्नो स्वतन्त्रताको पर्वकारुपमासमेत मनाउँदै आएका छन् ।

तीज सुरु हुनुभन्दाअगाडिदेखि नै महिलाहरु एकापसमा भेटभाट गर्ने, नागगान गर्ने, मीठो खानेकुरा खाइ तीज मनाउन सुरु गर्ने गर्दछन् ।

तीजको दिन बिहानैदेखि काठमाडौंको पाशुपत क्षेत्र निकै रंगिन बन्यो । घाम–पानी केही नभनी महिलाहरु लाइनबद्ध भएर पूजा–आराधना गर्न उपस्थित भएका थिए ।

जताततै रातो पहिरन अनि सौभाग्यको प्रतीकस्वरुपको चुरापोतेमा सजिएका महिला एकातिर आफ्नो मनोकामना पूरा गर्नका लागि लाइनमा उभिएका थिए भने केही व्यस्त थिए नाचगानमा ।

हिन्दू नारीहरुले तीजगीतमार्फत् आफ्ना भावना अभिव्यक्त गर्ने गर्दछन् । सासू–बुहारीबीचको सम्बन्ध होस् वा माइतीतिरको सम्बन्ध चेलीहरुले गीतमार्फत् नै अभिव्यक्त गर्ने गर्दछन् ।

तीजको रमाइलो हेर्नेहरुको भीडसमेत पाशुपत क्षेत्रमा देखिन्थ्यो । रंगीचंगी भएर पुगेका महिलाका कारण त्यहाँको आकर्षक बेग्लै देखिएको थियो ।

पाशुपत क्षेत्रमा पुगेका हिन्दू नारीहरुले पतिको दीर्घायुको कामनामात्र गरेनन्, अविवाहितले सुयोग्य बर पाउने कामनासमेत गरे ।

तर, समयअनुसार तीज मनाउने प्रचलनमा परिवर्तन हुँदै विकृति फैलिएको भन्दै चेलीहरुले गुनासोसमेत गरेका छन् ।

विवाहित हुन् या अविवाहित सबै हिन्दू नारीले आफ्ना भावना साट्ने पर्वकारुपमा तीज मनाउने गर्दछन् । यो चाडको महत्व जति धेरै छ, उति नै भड्किलो पनि बन्दै गएको छ ।

तीजको नाममा देखिने विलासी र तडक–भडकजस्ता विकृतिलाई न्यून गर्दै तीजको धार्मिक, सांस्कृतिक र परम्परागत महत्वलाई जोगाउने चुनौती नेपाली चेलीहरुको काँधमा आएको छ ।

भिडियो हेर्नुहोस्