१० चैत्र २०८१, आइतबार | Mon Mar 24 2025


रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, चार जना युक्रेनमा बन्दी


2.665k
Shares

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत कुन्दन सिंह नागलको निधन भएको जनाएको छ ।

यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको थियो । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसका राजदूत मार्फत पुनः अनुरोध गरिएको जनाएको छ । त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई पुनः आग्रह गरिएको छ ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन मन्त्रालयले भनेको छ ।

साथै, सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट स्वीकृति लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले स्मरण गराएको छ ।

यसैबीच रुसी सेनामा कार्यरत चारजना नेपालीलाई युक्रेनले बन्दी बनाएको मन्त्रालयले जनाएको छ । परराष्ट्रका अनुसार बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउ-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रून्टिगढी-८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनेका छन् ।

बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।