काठमाडौं, भदौ २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सको विमान चीन उडानका लागि कूटनीतिकरुपमा पहल भइरहेको बताएका छन् ।
चिनियाँ विमान नियमितरुपमा नेपाल उडान आइरहेपनि नेपाली विमानले भने चीनमा रुट पाएका छैनन् ।
हालै सिचुआन अन्तर्राष्ट्रिय पर्यटन मेलामा भएको उपलब्धिबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले हवाई क्षेत्रमा समान व्यापारका लागि पहल भइरहेको बताए ।
नेपाली विमान चीनमा जान नपाएसम्म समान व्यापार भएको मान्न नसकिने उनको भनाइ छ ।
यद्यपि, उनले बेइजिङमा बन्दै गरेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नेपाली हवाई कम्पनीले रुट पाउने चीनले जनाएको पनि जानकारी गराए ।
मन्त्री अधिकारीले चीनको सिचुआन अन्तर्राष्ट्रिय पर्यटन मेलाकाक्रममा चीनको लसान र लुम्बिनीबीच मित्रवत् तथा पारस्परिक सम्बन्धको औपचारिक सम्झौता गरिएको जानकारी गराए ।
यसले विशेषगरी लसानमा जाने बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्