२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


के भने सांसदहरुले एनसेल प्रकरणका बारेमा


260
Shares

काठमाडौं । एनसेलको शेयर खरिद बिक्री प्रकरणको सुक्ष्म अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरुले एनसेलको शेयर खरिद बिक्री प्रकरणको गहिरोगरी अनुसन्धान गर्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् । एनसेलले आफ्नो ८० प्रतिशत शेयर बेच्दा कर छलि गरेको भन्दै यसको अनुसन्धान गर्नुपर्ने सांसदहरुको भनाई छ ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपालमा आम्दानी गरेर विदेशमा लगेर कम्पनी बेचेको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले एनसेलको कारोबार शंकास्पद र जालझेलपूर्ण रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणमा राजनीतिक व्यक्तिहरुको संलग्नता पनि हुन सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले छानविन समिति बनाउँदा राजनीतिक रंग पर्न नदिइ न्यायिक आयोग बनाउनुपर्ने र त्यसले छानविन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, नेकपा(एमाले)का सांसद योगेश भट्टराईले एनसेल डुब्दा बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता समेत डुब्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले एनसेलले ६ अर्बमा आफ्नो शेयर बेच्ने हो भने सेयर किन्ने पहिलो अधिकार नेपाल सरकारलाई हुने बताउनुभयो । उहाँले सरकारले ६ अर्बमा शेयर किनेर अर्को टेलिकम बनाउन सक्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले एनसेलले नेपालको दूरसञ्चार क्षेत्रलाई नै आफ्नो नियन्त्रणमा राख्न योजनावद्ध ढंगले लागेको भन्दै यसप्रति गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले छानविन प्रक्रिया अगाडी बढाउनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेकपा(एकीकृत समाजवादी)का सांसद प्रेम आलेले सरकार दह्रो रुपमा प्रश्तुत भएर एनसेल प्रकरणको छानविन गर्नुपर्ने बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एनसेललाई कर नतिरुञ्जेल र बैंकको ऋण नतिरुञ्जेल कुनै निर्णय गर्न दिनु नहुने बताउनुभयो । उहाँले एनसेलले शेयर खरिद बिक्रीमा सरकारको अस्तित्वलाई समेत अस्वीकार गरेको भन्दै एनसेलप्रति छानविन हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि एनसेलको शेयर प्रकरणमा स्वतन्त्र छानविनको माग गर्नुभयो । उहाँले सर्वदलिय, उच्चस्तरीय नाम दिएर छानविन समिति नबनाइ स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्नसक्ने समिति बनाउनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्ने अन्य सांसदहरुले पनि एनसेलको शेयर किनबेचमा आर्थिक घोटाला भएको भन्दै छानविनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।