२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


समाचार साभार गरेकै आधारमा पत्रकार पक्राउ


0
Shares

काठमाडौं, भदौ २६ । ललितपुरबाट प्रकाशित हुने खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले समाचार बनाएकै आधारमा पटक–पटक पक्राउ गर्दै आएको छ ।

खोजतलास साप्ताहिक र खोजतलास अनलाइन सन्चालन गर्दै आएका बस्नेतले दृष्टि साप्ताहिकले लेखेको समाचार साभार गरी आफ्नो अनलाइनमा हालेका थिए ।

उक्त समाचारमा नाम परेका व्यक्तिको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

दृष्टि साप्ताहिकले गत भदौ १९ गते ‘हरिसिद्धिको जग्गा गैरकानुनीरुपमा बिक्री गर्न सांसदहरुकै दबाब’ शीर्षकमा प्रकाशित गरेको समाचारलाई खोजतलास अनलाइनले ‘जनप्रतिनिधि कि जग्गा दलाल ?’ भन्ने शीर्षक दिएर समाचार साभार गरेको थियो ।

उक्त समाचारमा हरिसिद्धिको सार्वजनिक जग्गा बिक्री गर्ने षड्यन्त्र भइरहेको भन्दै नेकपा सांसद पम्फा भुसाल र राजकाजी महर्जनको तस्वीर राखिएको थियो ।

तर, सुशील खनाल नाम गरेका व्यक्तिले उजुरी दिएपछि प्रहरीले बस्नेतलाई गत सोमबार घरबाटै हत्कडी लगाएर लगेको थियो ।

समाचारको शीर्षकप्रति आपत्ति जनाउँदै उजुरी दिएको भरमा बस्नेतलाई पक्राउ गरिएको पाइएको छ ।

महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको जानकारी दिएका छन् ।

यसअघि पनि सोही जग्गा बिक्रीको षड्यन्त्र भइरहेको समाचार अनलाइनमा लेखेको आरोपमा बस्नेतलाई पक्राउ गरिएको थियो भने प्रेस काउन्सिलको रोहबरमा उनी छुटेका थिए ।