Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज भयो : अध्यक्ष ओली


910
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताउनुभएको छ ।

आइतबार संघीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज बन्न गएको बताउनुभएको हो । माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राख्नुभएको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताउनुभएको थियो । त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउने काममा सक्दो सहयोग गर्ने बताउनुभएको थियो । बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताउनुभएको एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्र संघलाई नेपालजस्तो विकासोन्मुख देशहरुको बलियो अभिभावकको रुपमा हेर्न चाहेको पनि बताउनुभएको थियो ।