१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपालले जित्यो एसिसी यू-१९ प्रिमियर कपको उपाधी


5.564k
Shares

काठमाडौं । नेपालले एसिसी यू-१९प्रिमियर कपको उपाधी जितेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर, यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि देव खनालले सर्वाधिक एकसय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए । यूएईका लागि हरित सेठ्ठीले पाँच विकेट लिएका थिए भने कप्तान आयन खानले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले सन्तोषजनक सुरुआत गरे पनि जित हासिल गर्न सकेन । उसका लागि ध्रुव परेशारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यान्श शर्माले ३२ रन बनाए ।

नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिनुभयो भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।