२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


श्रीमतीलाई थाहै नदिइ सम्बन्धविच्छेद गरेपछि…


0
Shares

स्याङ्जा, भदौ २५ । श्रीमान्–श्रीमतीको सहमतिमा सम्बन्धविच्छेद स्वभाविक हो । तर, यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्धविच्छेद गरेको घटना सार्वजनिक भएको छ ।

आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्धविच्छेद गरेको भन्दै सोमबार स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन् ।

उनले रुँदै भनिन्–‘मलाई थाहा नै नदिइ कसरी सम्बन्धविच्छेद भयो ? मलाई न्याय चाहियो ।’

भिरकोट नगरपालिका–३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्धविच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीनओटा मुद्दा दर्ता गराएकी छन् ।

उनले हक कायम गराउन, जालसाजी र गाली–बेइज्जतीको मुद्दा दर्ता गराएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

आफूलाई थाहा नै नदिइ सम्बन्धविच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उनले भनिन्–‘मलाई थाहा नै छैन, कसरी भयो सम्बन्धविच्छेद ?’

श्रीमान्ले कुटपिट गर्ने, खान–लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दामात्र आफ्नो सम्बन्धविच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमान्काविरुद्ध उत्रिन बध्य भएको उनले बताइन् ।

वि.सं. २०४४ मा आपूmहरूको मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत् श्रीमान्ले वि.सं. ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको र करिब दुई वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर फर्किएको उनले बताइन् ।

घरमा आएपछि आफूलाई खान–लाउन नदिने, कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकामा बिरुवा अर्चले–६ का राजेन्द्र अधिकारीसँग वि.सं. २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुटो विवरण बनाइ अदालतले स्वतः सम्बन्धविच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको र सम्बन्धविच्छेदको कुरा छोरीले अंश मुद्दा दिएपछिमात्रै आफूले थाहा पाएको बताइन् ।

बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई अहिलेसम्म देख्दा पनि नदेखेको र नचिनेको मान्छेसँग बिहे गरेर गएको भनी आफूलाई झुटो आरोप लगाएर अपमान गरेको पनि उनले बताइन् ।

उक्त अदालतका से्रस्तेदार आचार्यले भने–‘बिरुवा अर्चले–६ का राजेन्द्र अधिकारीसँग वि.सं. २०५५ फागुन १३ गते अर्को बिहे गरेर गएको भन्ने विवरण फिरादपत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको र अदालतबाट दोस्रोपटक आदर्श समाज दैनिकमा वि.सं. २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र वि.सं. २०७४ वैशाख ६ गते सम्बन्धविच्छेद हुनेगरी फैसला भएको थियो ।’ रासस