
काठमाडौं, भदौ २५ । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले राजीनामा दिएका छन् ।
प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले सोमबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिको सदस्यबाट राजीनामा दिएको जानकारी गराए ।
केसीले निर्मला हत्याको छानबिनका लागि समितिको म्याद थप गरिएकोप्रति असन्तुष्टिसमेत जनाए ।
‘निर्मलाको न्यायका लागि नै मैले राजीनामा दिएको हुँ । म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो । अब म समितिमा बसेर काम गर्दिनँ’–उनले भने ।
केसीले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय उच्चस्तरीय छानबिन समितिको छानबिनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको स्पस्ट पारे ।
केसीले विज्ञप्तिमार्फत् भनेका छन्–‘नेपाल सरकारको मिति २०७५ भदौ २४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार २०७५ भदौ २५ गतेदेखि लागू हुनेगरी १५ दिन म्याद थप गरेको पत्र प्राप्त भएकाले यस सन्दर्भमा निर्मला पन्तको बर्बरतापूृक जघन्य अपराधकोविरुद्धमा उभिइ निर्मलाको आत्मालाई र निजको परिवारलाई यस समितिको सदस्यबाट न्याय दिन मेरो तर्फबाट असम्भव देखेर आज मिति २०७५ भदौ २५ गतेदेखि समितिबाट अलग रहेको व्यहोरा नेपाल सरकार, प्रदेश नम्बर–७ सरकारलगायत सम्बन्धित निकायहरुलाई जानकारी गर्दछु ।’
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘घटनाको छानबिनकोक्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्नसक्ने प्रवल सम्भावना रहेकाले नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाइडेट नेसन ह्युम्यान राइट्स अफिस अफ द हाइ कमिसन, मानवअधिकार सम्वर्धन तथा प्रवर्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सन्चारजगत नागरिक समाज र राजनीतिक दललगायतलाई मेरो जीवनरक्षाका लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्