
काठमाडौं । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसदको वेल घेराउ गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै सभापति साहले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपी संलग्न रहेको देखिएको भन्दै उनीहरुमाथि कारबाही प्रक्रिया अघि नबढाए संसदभित्र छलफलको विषय बनाएर सांसदहरु गृहमन्त्रालय घेराउ गर्ने र संसदको वेल घराउन गर्न बाध्य हुने बताउनुभएको हो ।
सभापति साहले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताउनुभयो ।
समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आरती साह मृत्युप्रकरणका दोषी कोहीलाई पनि सरकारले नछोड्ने बताउनुभयो । उहाँले अदालतले दोषी देखाए जो कोही पनि कारबाहीको दायरामा आउने बताउनुभयो । सहसचिव भट्टराईले सरकारले अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्रहरीले ज्यादती गरेको ठहरिए ति प्रहरीहरुको निलम्वन गर्न सरकार पछि नहट्ने पनि बताउनुभयो ।
सहसचिव भट्टराईले पीडित पक्षहरुलाई घटनास्थलमै गएर अनुसन्धानमा सघाउन अनुरोध गर्दा नमानेकोप्रति दुःख व्यक्त गर्नुभयो । आरती साह जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले उनका श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । माईती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्