२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


नारायणी नदीले तटबन्ध भत्काएर कटान सुरु गरेपछि स्थानीय त्रसित (भिडियो)


0
Shares

राजु चौधरी/ईमेज:

चितवन । बेलाबेलामा बितण्डा मच्चाइरहने नारायणी नदीले चितवनको गोलाघाट क्षेत्रमा तटबन्ध भत्काई कटान गर्न थालेसँगै स्थानीयमा त्रास फैलिएको छ ।

अत्याधिक वर्षाका कारण नदीमा बहाब बढेसँगै भरतपुर महानगरपालिकाका अन्तर्गतको सो क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।

अर्कोतिर तटबन्ध भत्किएपछि  ठेकेदार कम्पनीमाथि पनि प्रश्न उठेको छ ।

भरतपुर महानगरपालिका वडा नंं. २७ र २८ क्षेत्रका स्थानीयवासी आतंकित छन् ।

पानीको बहाब बढेपछि नदीले तबन्धन भत्काएर कटान गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको हो ।

तटबन्ध भत्काएपछि कटान रोक्नको लागि स्थानीय र नेपाली सेना, प्रहरी अहोरात्र  खटिएका छन् ।

जालीमा ढुंगा भर्नेदेखि रुख ढालेर कटान छेक्नेसम्मका प्रयास उनीहरुले गरिरहेका छन् ।

आफ्नो वासस्थानमै यस्तो जोखिम बढेपछि स्थानीयवासी ठेकेदारप्रति आक्रोशित छन् ।

अन्य ठाउँबाट ग्राबेल ल्याएर तटबन्धनको काम गर्नुपर्नेमा त्यहीँकै सामग्रीले तटबन्धन गरेकोले यस्तो भएको स्थानीयको आरोप छ । 

नदीले करिब १ सय मिटर क्षेत्रको तटबन्ध भत्काएको छ । जसका कारण नदी छेउका दुई घरको सामान समेत सारिएको छ ।

त्यतिमात्र होइन  कटान भइरहकोले महानगरपालिकाका वडा नं २८ र २७ का सालबास, सिसाबास पर्साबजार, लौखरी, गोलाघाट र अनौलीआसपासका क्षेत्रमा बाढी पस्ने जोखिम छ ।

उसो त यो समस्या पहिलोपटक भने होइन गतवर्ष पनि सोही क्षेत्रमा कटान भएको थियो । त्यसकारण पनि तारजालीको भरमा मात्र पर्न नहुने आयोजनाका कर्मचारीको सुझाव छ ।

भरपर्दो नदी तटबन्धनका लागि १० अर्ब ५० करोड बजेटको गुरुयोजना निर्माण गरी काम पनि थालियो तर २०७३/७४ सम्म १० बर्षमा १ अर्ब ६ करोड रकम मात्र खर्च भएको देखिन्छ ।

भर्खर बनाएको तटबन्धन गर्लम्म भत्किएपछि करिव डेढ करोड रुपैयाँ त बालुवामा पानी हालेजस्तै स्वाहा भएको छ । जसले आयोजनाकाको कामप्रति समेत प्रश्नचिह्न उठेको छ ।

यसमा उचित छानबिन गर्नु त छँदैछ  त्यसमा पनि वर्षेनी देखिने जोखिम न्यूनीकरणका दीर्घकालीन रणनीति आवश्यक देखिन्छ ।