निगमको ‘अन्नपूर्ण’ असार १४ मा आइपुग्ने, यस्तो छ तयारी • Image Khabar Image Khabar


निगमको ‘अन्नपूर्ण’ असार १४ मा आइपुग्ने, यस्तो छ तयारी


Imagekhabar
५ असार २०७५, मंगलवार ०२:४५

निगमको ‘अन्नपूर्ण’ असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

रमेश लम्साल/सिबी अधिकारी (रासस)

काठमाडौं, असार ५ । नेपाल वायुसेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको ‘वाइडबढी’ विमान यही असार १४ गते काठमाडौं आइपुग्ने भएको छ ।

नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ ।

निगमले जहाज हाल परीक्षणमा रहेको र असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको जनाएको छ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान आइपुग्न लागेको उल्लेख गरेको छ ।

निगमले आगामी साउनको पहिलो सातादेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ ।

नयाँ विमान आइपुगेको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको अन्नपूर्ण जहाजका लागि ‘नाइन एन एएलवाई’ कलसाइन दिएको छ ।

कुल २७४ सिट क्षमताको सो जहाजमा १६ ओटा ‘बिजनेस क्लास’ र बाँकी ‘इकोनोमी’ सिट रहेको छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विमान अवतरण भएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान सुरु गरिनेछ ।

निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एअरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएको जहाज निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिइएको हो ।

दुईओटा जहाजको लागत रु २१ अर्ब ९० करोड छ । सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म आउने भनिएपनि दुई महिनाभन्दा बढी समय लागेको हो ।

नयाँ जहाज दोहा र दुबईमा उडाउने तयारी गरिएको छ । यस्तै, निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ ।

दुई वर्षपहिले अर्थात् सन् २०१६ मा अन्तर्राष्ट्रिय उडानतर्फ त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा बढी यात्री बोकेको निगमले सन् २०१८ को तीन महिनामा आइपुग्दा तेस्रो स्थानमा पुगेको छ । सन् २०१७ मा निगम दोस्रो स्थानमा थियो ।

निगमकोे एअरबसमा आएको समस्याका कारण यात्री संख्या गुमाएको हो । तर, महाप्रबन्धक कंसाकारले नयाँ जहाज आएपछि नयाँ गन्तव्य पनि थपिने र यात्रीसमेत बढ्ने बताउँछन् ।

निगमले सन् २०१८ को तीन महिनामा ८९ हजार २१४ यात्री बोकेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले नयाँ विमान आउनुअगावै आवश्यक कागजात र प्राविधिक तयारीको काम भइरहेको बताए ।

उनले विमान अवतरण भएपछि गर्नुपर्ने कामबाहेक अरु सबै काम सकिइसकेको जानकारी दिए ।

सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ ।

जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने तथा त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ ।

नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीतिसमेत निगमको छ ।

पहिलो जहाज अवतरण भएको दुई महिनापछि अर्को जहाजसमेत आइपुग्ने निगमले जनाएको छ ।

निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले निगमको जहाज अवतरण भइसकेपछि आवश्यक सबै प्रक्रिया पूरा गरिने जानकारी दिए ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका ८ गन्तव्य भारतको नयाँदिल्ली, बेङलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।

एक बोइङ नाइन एसीबी–५७५ र एअरबस ३२० सिरिजका दुईओटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका हुन् ।

निगमले आन्तरिकतर्फ ९ ओटा विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका वाई १२ चारओटा, एमए ६० दुईओटा तीनओटा ट्वीनअटर विमान छन् ।

डेढ वर्षभित्र ८ विमान

निगमले सेवा सुधारलगायतका कार्ययोजना तयार पारी आगामी डेढ वर्षभित्र थप ८ नयाँ विमान ल्याउने योजना बनाएको छ ।

निगमले थप दुईओटा ‘न्यारोबडी’ विमान ल्याउन अर्थ मन्त्रालयसँग स्वीकृति मागेको छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक सेवा विस्तारका लागि नयाँ जहाज खरिद गर्न लागिएको हो ।

नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरमा नै हवाई सुरक्षाको प्रत्याभूति गराउने निगमले जनाएको छ ।

सरकारले आर्थिक समृद्धिको आधारकारुपमा पर्यटन क्षेत्रलाई राखेको र सन् २०३० सम्म कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको हिस्सा २५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । त्यसका लागि कम्तीमा पनि ५० लाख पर्यटक भित्र्याउनुपर्ने देखिएको छ ।

पर्यटन भित्र्याउनका लागि राष्ट्रिय ध्वजाबाहक निगमलाई सबल र सक्षम बनाउनु जरुरी छ ।

सरकारले आगामी आवका लागि हवाई क्षेत्रमामात्रै रु १९ अर्ब बजेट विनियोजन गरेको छ । सो बजेट हवाई पूर्वाधारको विकास, विमानस्थलको सुदृढीकरण तथा निर्माणमा रहेका विमानस्थललाई शीघ्र सम्पन्न गर्न खर्च गरिनेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रिय ध्वजाबाहकलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको तर्फबाट हदैसम्मको प्रयास गर्ने बताउँदै आएका छन् ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसका लागि पनि सुरक्षित र भरपर्दो हवाई सेवाको जरुरी रहेको सरोकारवाला निकायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्