१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


नवलपुरका थारु समुदाय पुख्र्यौली संस्कृति संरक्षणमा


0
Shares

विवेक भण्डारी/ ईमेज 

नवलपुर । थारुहरुले आफ्नो पुरानो संस्कृति गुमाउँदै गएका छन् । संस्कृति लोप हुने अवस्थामा पुगेपछि नवलपुरका थारु समुदाय पुख्र्यौली संस्कृति संरक्षणमा लागेका छन् ।

पहिलेदेखि मान्दै आएका चालचलन र संस्कृति विस्थापित हुन लागेकोप्रति नवलपुरका थारु समुदाय चिन्तित छन् ।

आफ्नो समुदायमा रहेका मौलिकरहनसहन र चालचलनमा परिवर्तन हुँदै गएपछि उनीहरुलाई आफ्नो विशिष्ट पहिचान गुम्ने डर छ । जसले गर्दा विभिन्न उपाय अपनाइ आफ्ना राम्रा संस्कृति संरक्षणमा लागेका हुन् ।

जसको लागि युवा जमातलाई संस्कृति र रीतिरिवाजको बारेमा शिक्षा दिनुपर्ने भएकोले होमस्टेद्वारा थारु संस्कृति संरक्षणमा लागेको कावासोती–१५ की मिना चौधरीको भनाइ छ ।

पहिले थारु समुदायले प्रयोग गर्ने सामग्रीहरु विस्तारै हराउँदै छन् ।

साथै थारु समुदायले बनाउने घरको बनावट पनि अहिले देखिँदैन आधुनिक सुविधातर्फ मोह बढेकोले समयअनुसार परिवर्तन भएको स्थानीय लक्ष्मी चौधरी बताउँछिन् ।

उसो त राम्राराम्रा पुराना संस्कृतिहरु देशव्यापी रुपमै विस्थापित भइरहेको वर्तमान अवस्थामा थारु संस्कृति संरक्षण गर्न पनि त्यति सहज भने छैन ।

तर चुनौतीका  बीच पनि नवलपुरका थारु समुदाय आफ्नो सांस्कृतिक अस्तित्व जोगाउने अठोट गरेका छन् ।

संस्कृति लोप हुन नदिन सबैभन्दा पहिले युवा पिँढीलाई थारु संस्कृतिको बारेमा ज्ञान दिने र त्यसको महत्व बुझाउनुपर्ने तेजनारायण महतोको भनाइ छ ।

कुसंस्कार र कुप्रथाको विरोध गर्ने नाउँमा हाम्रा कतिपय सुसस्कृतिहरु पनि अहिले धरापमा परिरहेका छन् ।

विदेशी संस्कृति भित्रिँदै गएको र मौलिक सभ्यता,संस्कृतिमा दिनहुँ प्रहार भइरहेको छ ।

यसमा थारु समुदायका साथै अन्य मौलिक र विशिष्ट पहिचान बोकेका संस्कृति संरक्षणमा हामी सबै एकजुट हुनुपर्ने अवस्था आएको छ ।