Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दाहाल–यादव सम्बन्धमा दरार


1.2k
Shares

काठमाडौं । साउन ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमै भएर पनि सहभागिता जनाएनन्।

जसपाका तर्फबाट प्रवक्ता मनीष सुमन र अर्का नेता राजेन्द्र श्रेष्ठलाई बैठकमा सहभागी गराइएको थियो। त्यसैको दुई दिनअघि साउन २९ गते प्रधानमन्त्री दाहालले नै बोलाएको सर्वदलीय बैठकमा पनि यादव सहभागी भएनन्। सो बैठकमा उनले प्रवक्ता सुमनलाई पठाए।

तर, त्यतिबेला भने उनी जसपाको बारा जिल्ला कार्यसमितिको आन्तरिक बैठकमा सहभागी हुन त्यतै गएका थिए। जबकि त्यो बैठकमा केन्द्रीय अध्यक्षको उपस्थिति आवश्यक थिएन। सर्वदलीय बैठक छल्न यादव बारा पुगेको जसपाकै केही नेताले अनुमान गरेका छन्।

प्रवक्ता सुमनले भने यादवको बचाउ गर्दै भने, ‘साउन २९ गते अध्यक्षज्यू बारा जानुभएकाले सर्वदलीय बैठकमा सहभागी हुन सक्नुभएन। साउन ३१ गते भने काठमाडौंमै भए पनि उहाँ निकै व्यस्त हुनुहुन्थ्यो।’

यो एउटा उदाहरण मात्रै हो, पछिल्लो समय दाहाल–यादव सम्बन्ध ‘दरार’को स्थितिमा पुगेको जसपाकै नेताहरूले स्विकारेका छन्। ‘प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूबीच सम्बन्ध त राम्रै थियो तर, अहिले त्यो सम्बन्धमा ग्रहण लगाउने प्रयास भइरहेको छ,’ प्रवक्ता सुमनले भने, ‘पछिल्लो समय सरकारको व्यवहार हेर्दा शंका गर्ने ठाउँ धेरै छन्।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।