Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


स्वास्थ्यमन्त्रीबाटै ‘सेतो कोट’को अपमान !


9k
Shares

काठमाडौं । ‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ। सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन।

तर,एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा ‘सेतो कोट दिवस’ मनाउने गरी उपत्यकामा रहेका सरकारी अस्पताललाई स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुन पत्र पठाउन लगाए।

मन्त्रालयको पत्रले नै सेतो कोटको मर्यादा मिचेको छ। मन्त्रालयले मन्त्रीले पदभार समालेको एक सय दिन पुगेको अवसरमा राष्ट्रियसभा गृहमा कार्यक्रम गरेको थियो।

धेरै चिकित्सकलाई मन्त्रीको प्रस्ताव मन परेन। तर, विभागीय मन्त्रीले सेतो कोटमै उपस्थित हुन भनेपछि उनीहरूले प्रत्यक्ष विरोध गर्न पनि सकेनन्। चिकित्सकले आपसमा भने त्यसको आलोचना गरे। आलोचना भएको जानकारी पाएपछि मन्त्रालयका अधिकारीले वीर अस्पतालका निर्देशकलाई फोन गरी पत्रमा सुधार गर्न लगाएको स्रोतले बतायो।

वीर अस्पतालका एक चिकित्सकका अनुसार सेतो कोट लगाएर कार्यस्थलबाहेक पुस्तकालय र क्यान्टिनमा समेत जान पाइँदैन। बेलायतबाट विकसित भएको स्वास्थ्यकर्मीको सेतो कोट (एप्रोन) अहिले विश्वभरि प्रचलित छ। यसको दुरूपयोग नहुने गरी अभ्यास पनि हुँदै आएको छ।

वीर अस्पतालका एक वरिष्ठ चिकित्सक भन्छन्, ‘सेतो कोट लगाएरै मन्त्रीको सयदिने कार्यक्रममा बोलाइनु पञ्चायती शैली भयो।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।