५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


मन्त्रिमन्डल हेरफेरको कुनै सम्भावना छैन : गृहमन्त्री


0
Shares

गोरखा, भदौ २३ । गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमन्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन् ।

२०औं वासु स्मृति दिवसमा सहभागी हुन शनिबार गोरखा आइपुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमन्डल हेरफेरको कुरा सत्य नभएको बताएका हुन् ।

‘बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषदमा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन’–गृहमन्त्री थापाले भने–‘यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।’

सरकारले ६ महिनामा थुप्रै उल्लेख्य काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति र व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले समयमा विकास निर्माणका काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन सरकार लागिपरेको बताए ।

गृहमन्त्री थापाले भने–‘ठेकेदारलाई कारबाही गर्न सरकार पछि हटेको भन्ने होइन । अहिले पहिलेको तुलनामा ठेकेदारले काम गरिरहेका छन् । उनीहरुको कामबाट सुरक्षा हिसाबले समस्या भए जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

उनले जनताले विकास आर्थिक समृद्धि, सुशासन र स्थायित्वका लागि दिएको जनादेशलाई सरकारले इमान्दारीपूर्वक निर्वाह गर्दै आइरहेको बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीतर्फ लक्षित गर्दै गृहमन्त्री थापाले भने–‘अहिले केही तत्वहरुले संघीयता कार्यान्वयन हुन नदिन, समाजमा अराजकता मच्चाउन लागिपरेका छन् । तिनीहरुलाई पनि नियन्त्रणमा ल्याइसकेका छौं ।’

गृहमन्त्रीले शनिबारै जिल्लास्थित सुरक्षा समितिको बैठकमा जिल्लाभित्रको शान्ति–सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

गृहमन्त्री थापाले शनिबारै निर्माणाधीन गोरखाको ऐतिहासिक तथा धार्मिकस्थल गोरखाकाली मन्दिरको अवलोकन गर्नुका साथै भूकम्पपछि निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गरे ।

भूकम्पको केन्द्रविन्दु बारपाकको अुनगमनका लागि जाने गृहमन्त्री थापाको कार्यक्रम रहेपनि मौसम खराबीका कारण त्यहाँ हेलिकोप्टर ओर्लन नसकेपछि सीधै सदरमुकाम आएका थिए । रासस