Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सुनसरीमा दादुराको खोप अभियान आजदेखि सुरू


234
Shares

काठमाडौं । सुनसरीमा साउन सोमबारदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ ।

विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो । महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पूनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान संचालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

अभियान बारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक डाकी जानकारी गराएको छ । बैठकमा दिइएको जानकारी अनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिका बाहेकका अन्य ११ वटा स्थानीय तहमा संचालन हुनेछ ।

बर्जु गाउँपालिकामा भने फागुन महिनामा महामारीका रुपमा दादुरा फैलिए लगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जु बाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताउनुभयो ।

प्रसाईका अनुसार नेपाल सरकारको निर्णय बमोजिम दादुरा महामारी देखिएका ९ जिल्लाको हकमा विशेष खोप अभियान संचालन हुन लागेको हो । सोही अनुरुप सुनसरीमा समेत अभियान चलाउन लागिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालयमा केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।