
सुन्दरकुमार थकाली
मुस्ताङ, भदौ २३ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कोरला नाका सञ्चालन भएमा नेपाल, भारत र चीनबीच त्रिदेशीय व्यापारिक सम्बन्ध विकास हुने बताएका छन् ।
शनिबार मुस्ताङ आएका उनले जोमसोम विमानस्थलमा स्थानीय पत्रकारसँग कुरा गर्दै छिमेकी देश चीनसँग सीमा जोडिएको उत्तरी कोरला नाका सञ्चालनमा आउन सकेमा चीन र नेपालको मात्र नभई त्रिदेशीय व्यापारिक सम्वन्ध विस्तारमा योगदान पुग्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले यसका लागि कोरला नाकाको नियमित अनुगमन र पुर्वाधार विकास कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको बताए ।
कोरला नाकालाई लक्षित गरेर सुरु गरिएको निर्माणाधीन बेनी–जोमसोम र जोमसोेम–कोरला सडकलाई चाँडोभन्दा चाँडो स्तारोन्नति गर्न आफ्नो तर्फबाट प्रयास भईरहने उनले बताए ।
अध्यक्ष तिमिल्सिनाले कोरलानाकामा भन्सार, अध्यागमन र सुख्खाबन्दरगाह जस्ता पूर्वाधार निर्माण गरी नाका सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले कोरला नाका सञ्चालनमा आउन सकेमा गण्डकी प्रदेशको मात्र नभई समग्र मुलुककै लागि दुरगामी प्रभाव पार्ने जनाए ।
मुक्तिनाथ गुरुयोजना कार्यान्वयनबारे सोधिएको प्रश्नमा अध्यक्ष तिमिल्सिनाले पर्यटन मन्त्रालयले तयार गरेको गुरुयोजनाले मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै धार्मिक पर्यटनमा श्रीबृद्धि हुने उल्लेख गरे ।
विगतमा योजनाहरु कम बन्ने गरेको र बनेका योजनाहरु पनि समयमा सम्पन्न हुन नसकेको उल्लेख गर्दै उनले यस्ता प्रबृत्तिहरुको अन्त्य हुनुपर्ने जिकिर गरे । उनले बिना योजना अघि सारिएका विकासे योजनाले समृद्धि हासिल गर्न कठिन हुने उल्लेख गर्दै गुरुयोजना खाकासहित काम गर्नुपर्नेमा जोड दिए ।
बेनी–जोमसोम सडक स्तरोन्नति वर्षायामपछि तीव्र तुल्याइने बताए ।
अध्यक्ष तिमिल्सिनाले शनिबारनै जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहाकार अशोक पौडेलले जानकारी दिए । पौडेलका अनुसार अध्यक्ष तिमिल्सिनाले आजै प्रशिद्ध धार्मिक तीर्थस्थल कागबेनी र मुक्तिनाथको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ ।
थासाङ गाउँपालिका २ कोवाङस्थित जनआदर्श अम्मरसिंह माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह उद्घाटन गर्न अध्यक्ष तिमिल्सिना मुस्ताङ आएको उनका प्रेस सल्लाहाकार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्