Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गाउँ पस्यो कांग्रेस


1.1k
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ।

महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन। सांगठनिक अवस्था लथालिंग रहेको अवस्थामा उसले गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्लाजिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले शनिबार १० दिने अभियान सुरु गरेका छन्। आन्तरिक विशेष अभियान नाम दिएर संगठन सुधारका लागि कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने भएको हो।

जिल्लामा खटिएका नेताहरूले पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना गठन भएनभएको, स्थानीय सरकार र पार्टीबीचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्ने जनाइएको छ।

भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने काम पनि केन्द्रीय प्रतिनिधिहरूले गर्नेछन्। उनीहरूलाई जिल्लाको अवस्थाबारे केन्द्रमा प्रतिवेदन केन्द्रमा बुझाउन भनिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।