
काठमाडौं । सुन तस्करीको ट्रान्जिट बिन्दुका रूपमा नेपाल एक प्रमुख केन्द्र बनेको कुरो अब लगभग स्थापित तथ्य बनिसकेको छ ।
कुरो पक्राउ परेको सय किलो सुनको मात्र रहेन । पक्राउ नपरेका यस्ता सय किलोका सयौं खेप नेपाल भूमिबाटै वारपार भएको भन्ने कुरोमा अब कुनै शंका रहेन ।
यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको र त्यस्ता गिरोहका सहजकर्ताका रूपमा नेपालका ‘गन्यमान्य’ व्यक्तित्वको संलग्नताकाबारे पनि धेरै दुविधा रहेन । कुरो तन्काउँदै जाने हो भने यो लहरो कहाँसम्म पुग्ने हो कल्पना गर्दा पनि कहालीलाग्दो परिदृश्य देखिन्छ ।
मित्रराष्ट्र चीन र भारतका तस्कर गिरोहको सक्रिय संयोजन र नेपालका शक्तिशाली एवं निर्णायक तहमा रहेकाहरूको ‘सहयोगी’ भूमिकाका कारण नै नेपाल सुन तस्करीको उर्वर भूमि बन्न पुगेको हो भन्ने कुरो अब लुकेको विषय रहेन ।
सुन, लागूपदार्थ वा हातहतियार जस्ता वस्तुको क्रय बिक्रयमार्फत् पैसा उमार्ने ठूलाठूला माफिया र गिरोह विश्वभरि नै सक्रिय छन् । दक्षिण अमेरिकाका कैयन मुलुक त यो विषम रोगबाट आक्रान्त नै छन् ।
कतिपय अवस्थामा त ती मुलुकका राज्य व्यवस्था नै त्यस्ता माफिया गिरोहको प्रत्यक्ष वा परोक्ष नियन्त्रणमा छ भन्दा पनि अत्युक्ति नहोला । कतै नेपाल पनि यस्तै अवस्थामा पुगेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्