Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


५५ खर्बको अर्थतन्त्रमा ७० खर्बको कर्जा

कर्जाको आकार दक्षिण एसियामा नै उच्च

8.6k
Shares

काठमाडौं । पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनबीचको औसत अनुपात बढ्नुका अतिरिक्त ठुला आकारका कर्जाको संख्या पनि बढेको छ ।

दुई दशकमा वास्तविक क्षेत्र विस्तार नभई वित्तीय क्षेत्रको मात्र विस्तार हुँदा वित्तीय सम्पत्तिको गुणस्तर कमजोर हुन गई वित्तीय स्थायित्वमा मात्र नभएर यसले अन्ततः वास्तविक क्षेत्र तथा सरकारी वित्तमा समेत दीर्घकालीन रूपमा प्रतिकूल प्रभाव पार्न सक्ने जोखिम रहने निष्कर्ष पनि नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यही कारणले गर्दा कर्जाको वृद्धिभन्दा कर्जाको उत्पादनशील उपयोग बढाउने, साना तथा मझौला उत्पादनशील कर्जामा जोड दिने र कर्जाको अधिकेन्द्रीकरण घटाउनेतर्फ नेपाल राष्ट्र बैंकले जोड दिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

यसैंगरी केन्द्रीय बैंकले नेपालमा पछिल्लो २५ वर्षको औसत मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत रहेको पनि जनाएको छ । यसलाई आधार मान्दा नेपालको प्राकृतिक ब्याजदर ६ दशमलव ५ प्रतिशतको हाराहारीमा रहेको बुझाइ राष्ट्र बैंकको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।