Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘अनुसूची’ बिनाका ३ सय ५० नागरिकता

३ लाखदेखि ५ लाख रुपियाँसम्ममा बिक्री गरिएको खुलासा

16k
Shares

काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले लिएको नागरिकता झुटो विवरण पेस गरेर लिएको पाँच वर्षअघि नै गृह मन्त्रालयलाई जानकारी गराएको खुलासा भएको छ ।

निमाजस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न अवधिमा नागरिकता लिएकामध्ये ३ सय ५० जनाको अनुसूची नभएको विवरण गृहलाई बुझाइएको थियो । जसमा निमा तामाङको नाम पनि समावेश छ ।

जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीका अनुसार वि.सं. २०७३ देखि २०७५ सम्म वितरण गरिएका नागरिकताका सन्दर्भमा शंका लागेर तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले अधिकृत रामप्रसाद भट्टराईको संयोजकत्वमा अनुसूची व्यवस्थापन गर्ने आदेशसहितको समिति गठन गर्नुभएको थियो । भट्टराई नेतृत्वको समितिले दिएको प्रतिवेदनमा ३ सय ५० जना नागरिकले प्राप्त गरेको नागरिकताको अभिलेख भए पनि अनुसूची नभएको फेला परेको परेपछि अनुसूची नभएकाहरूको सूचीको प्रतिवेदन तयार गरी राउतलाई बुझाइएको थियो ।

सोही प्रतिवेदन प्रमुख जिल्ला अधिकारी राउतले गृह मन्त्रालयमा बुझाउनुभएको थियो । गृहले उक्त प्रतिवेदनका बारेमा कुनै चासो नदिएपछि अनुसूचीबिना नागरिकता उपलब्ध गराउने कर्मचारीहरूलाई कुनै कारबाही नभएको जिल्ला प्रशासन कार्यालयका ती कर्मचारीले बताए ।

प्रतिवेदनको सूचीमा भएका र केही नभएका गरी प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले एक जनालाई मुद्दा चलाएर नागरिकता रद्द गर्नुभएको थियो भने वि. सं.२०७८ फागुनपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १६ वटा नागरिकता खारेज गर्दै मुद्दा चलाउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वि.सं. २०७९ फागुनपछि १३ वटा मुद्दा दर्ता गर्दै नागरिकता खारेज गर्नुभएको छ ।

खारेज भएका ३ सय ५० मध्ये अधिकांश नागरिकताहरू अन्य मुलुक र जिल्लाका भएको स्रोतले बतायो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।