Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


जिउधन चुँडाउँदै अमेरिकाकाे सपना


6.5k
Shares

काठमाडौं । अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने जान्दाजान्दै कैयौं नेपालीले यो बाटो हिँड्न छाडेका छैनन्।

अमेरिका जाने सपनाले दाजुको बाटैमा मृत्यु भएको थाहा पाए पनि सहोदर भाइ त्यही बाटोमा हिँड्न पटकपटक तत्पर भएको घटना टिठलाग्दो छ।

अमेरिका यात्रामा पानामास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परी बेपत्ता भएका रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–७ का ३० वर्षीय प्रदीप खत्रीका भाइ पटकपटक अमेरिका छिर्न खोजिरहेका छन् तर सफल हुन सकेका छैनन्।

दलालको लहैलहैमा लागेर अमेरिका जान खोज्दा प्रदीप बीच बाटामै बिलाएका थिए। दाइले त्यसरी जीवन गुमाउनुपर्दाको पीडा सहेर भाइले पनि त्यसरी नै अमेरिका जान खोज्नु विडम्बना बनेको छ।

गत वर्ष कात्तिकमा प्रदीप बेपत्ता भएको खबरपछि तिनै दलालले दाइको सट्टामा भाइलाई अमेरिका लाने भने। त्यहीक्रममा उनलाई पटकपटक दुबईसम्म पुर्याइएको थियो। खत्री परिवारका जेठा छोराको डुंगा दुर्घटनामा बेपत्ता भएको खबर नसेलाउँदै अर्का छोरा अमेरिका जान तयार भएका छन्।

भाइ अमेरिका जाँदै गर्दा आधा बाटाबाटै फर्किनुपरेको तर पनि अमेरिका जाने रहरमा रुमलिन नछाडेको खत्री परिवारको भनाइ छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।