Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


मनसुनको संघारमा किन बढ्यो गर्मी ?


3.8k
Shares

काठमाडौं । विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ ।

पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताउनुभयो ।

‘देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुँदैन ।’ उहाँले भन्नुभयो ।

उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । ‘तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौं उपत्यकामा पनि क्रमिकरुपमा तापक्रम बढिरहेको छ,’ उहाँले भन्नुभयो ।

दिनयता काठमाडौंको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।

नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।