१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


तातोपानी नाकामा व्यवसायीका दुःख : दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी


390
Shares

काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाका बैशाख अन्तिमबाट दुबै तर्फ सञ्चालनमा आएको हो । तर, नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् ।

पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरुका सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे । सडकको स्तारोन्नति र बिस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनी सास्ती भोग्नुपरेको छ ।

तातोपानी क्षेत्र भौगोलिक रुपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरु भएसँगै सडकमार्ग जिर्ण छ । नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारीक तातोपानी नाका भएपनि सडक मार्गको समस्याले सधैँ ग्रसित छ । चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालिन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ । व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भएपनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालिन समस्या समाधानको उपाय खोज्न सकेको छैन ।

चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरु नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् । सञ्चारकर्मीसँगको कुराकानीमा व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जिर्ण भएकाले असहज भइरहेको बताउनुभयो।

उहाँले सरकारले चीनसँगको प्रमुख व्यापारीक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताउनुभयो । उहाँले सडक पूर्वाधार मजबुत भएमात्रै नाका सञ्चालनमा सहज हुने बताउनुभयो । सत्यालले सडक जिर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्‍याउँदा बढ्ने गरेको बताउनुभयो ।

त्यस्तै,तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताउनुभयो । उहाँले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने अवस्था रहेको बताउनुभयो । उहाँले कन्टेनर बेला-बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको समेत बताउनुभयो ।

तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर, सडकको अवस्था भने दयनीय छ । तातोपानी नाका सहज रुपमा सञ्चालनमा आएपनि सडक मार्गको अवस्था नाजुक र जिर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ । कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ ।

तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाइ सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ ।