
काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलनको सफलताले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा र क्षमता बढाएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलनका सम्बन्धमा जानकारी दिँदै उनले शिखर सम्मेलनबाट मुलुकको प्रतिष्ठा, विश्वसनीयता र क्षमता पुष्टि गरेको बताए ।
सीमित स्रोत र साधनकाबीच छोटो समयमा गरिएको सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाएको भन्दै प्रधानमन्त्री ओलीले त्यसबाट कूटनीतिक कुशलता पनि देखिएको जिकिर गरे ।
सम्मेलनमा सम्पर्क सञ्जाल विस्तार, ऊर्जा प्रवर्धन र व्यापारका लागि महत्वपूर्ण निर्णय भएको र त्यसले नेपालको विकासमा महत्वपूर्ण मद्दत पुग्ने उनको धारणा थियो ।
उनले सम्मेलनमा सार्वभौम सत्ता, समानता, शान्तिपूर्ण सहअस्तित्व, आन्तरिक मामिलामा अहस्तक्षेप नीति तथा पारस्परिक हितमा आधारित हुँदै अघि बढ्ने प्रतिबद्धता पनि सदस्य राष्ट्रहरुले व्यक्त गरेको जानकारी सदनलाई गराए ।
प्रतिक्रिया दिनुहोस्