९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


मछिन्द्रको फराकिलो जित


793
Shares

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

च्यासल मैदानमा मंगलबार भएको खेलमा मछिन्द्रले एफसी खुमलटारलाई ७–३ गोलको फराकिलो जित निकालेको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे । विमल घर्ति मगर र विजय भुजेलले एक एक गोल थपे । ओलावाले ८ गोल पूरा गर्दै लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

जारी प्रतियोगितामा मछिन्द्रको यो तेस्रो जित हो । मछिन्द्रले ८ खेलमा १२ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा उक्लिएको छ । खुमलटारको यो पाँचौं हार हो । दशौं स्थानको खुमलटारले ८ खेलमा ७ अंक जोडेको छ ।

यस्तै, आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो जित निकालेको छ । जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराउँदै आर्मीले तेस्रो जित निकालेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गरे ।

जितसँगै आर्मीले ८ खेलमा १२ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १४ अंक जोडेको छ । जवालाखेल दोस्रो स्थानमा यथावत रहेको छ ।