
काठमाडाैं । १७ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पूरा भएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका महासचिव शिवसुन्दर गोथेले अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
अवार्ड कार्यक्रम चैत २० गते सोमबार ठमेलस्थित एक होटलमा हुनेछ । अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिनेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ ।
एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् । एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्