Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


बैतडीमा चरेससहित दुई जना पक्राउ


351
Shares


बैतडी । बैतडीमा लागू औषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाटन नगरपालिका-६ बस्ने ३७ वर्षीय कृष्ण विष्ट र दार्चुला लेकम गाउँपालिका-२ बस्ने १८ वर्षीय पुष्कर भट्ट रहेका हुन् । पाटन-६ मा खुद्रा पसल रहेका विष्ट चरेस बिक्री गरिरहेको र भट्टलाई चरेस किनिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

विष्टले चरेस बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीकाे नेतृत्वमा खटिएको प्रहरी टोलीले ४३ ग्राम चरेससहित दुवै जनालाई पक्राउ गरेको हाे । पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धि मुद्दा दायर भएर ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पाटन क्षेत्रमा लागूऔषध सेवनकर्ता बढिरहेको पाइएकाले अप्रेशन थालिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । यसअघि गत माघमा पनि खत्रीकै नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट ४ जना व्यापारीलाई चरेससहित पक्राउ गरेको थियो ।

बैतडी प्रहरीले विशेष अप्रेशनका साथै विद्यालयहरुमा लागू औषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको छ।