१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


182
Shares

काठमाडाैं । मर्चवारी गाउँपालिका, रुपन्देहीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । ९१ लाख ८६ हजार सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

१४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वैशाख २०७९ सम्म पदमा थिए । अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो । जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिए वापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार आम्दानी गरेको पाइएको छ ।

यही अवधिमा उनको खर्च र लगानी भने १ करोड ७५ लाख ९६ हजार पाइएको अख्तियारले जनाएको छ । यसमा छोराहरुको अध्ययनमा गरेको खर्चदेखि घर निर्माण खर्च, छोराको नाममा जग्गा, मोटरसाइकल, ट्याक्टर खरिद, परिवारको नाममा रहेको मौज्दात समेत समावेश छ । बानियाँको वैधानिक आयभन्दा बढी देखिएको ९१ लाख ८६ हजार बराबर रकमको स्रोत नखुलेको अख्तियारले बताएको हो ।

बनियाँ र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको जग्गा लगायतका चलअचल सम्पत्ति आफ्नो र छोराहरुको नाममा जोडेको देखिएकाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ ।