
काठमाडाैं । काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ ।
महानगरले आज पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी जानकारी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जनाएको छ ।
महानगरकी उपप्रमुख सुनिता डंगोलले देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रवन्ध र उपयोगमा समान बुझाई विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताउनु भयो । सम्मेलनमा दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौं घोषणापत्र जारी गरिने छ ।
डंगोलले सम्मेलनमार्फत देशभरमा न्यायिक समितिले गर्ने काममा एकरुपता ल्याउन सहयोग पुग्ने बताउनु भयो । सम्मेलनमा देशभरका ४ सय ५० पालिकाका न्यायिक समितिका संयोजक वा प्रतिनिधि सहभागी हुँदैछन् ।
सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाई विकास हुने अपेक्षा गरिएको छ । न्यायिक सम्मेलनले न्याय सम्पादनका काम प्रभावकारी हुने, सर्वसाधारणमा न्यायको पहँुच बढ्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्