६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. राणाकाे परिवारलाई एक लाख सहयोग


5.291k
Shares

काठमाडौं । चलचित्रकर्मी कल्याणकारी कोषले स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ एक लाख रूपैयाँ सहयोग गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले बुधबार रकम हस्तान्तरण गरेका थिए ।

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले हाल उनीहरु रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरणको समयमा कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष कविता गेलाल, सह कोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकारहरु उपस्थित थियो ।

सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठेरोमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताए ।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौंको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो ।

वि.सं. २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा आएका स्व. राणाले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । बसन्ती, बलिदान, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्‍यो मेरो मन, दासढुंगा, दाग लगायतका चलचित्रहरुमा उनले अभिनय गरेका थिए ।

राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । जेठी छोरी नन्दनी पनि बिरामी परेकी थिइन् । राणाका छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो ।