Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


विपक्षी बेन्चमा बस्न होड

विवादले चैत ५ सम्म प्रतिनिधिसभा बैठक स्थगित

351
Shares

काठमाडौं । नयाँ सरकार गठनका बेला प्रमुख राजनीतिक दलहरूबीच प्रधानमन्त्रीको कुर्सीका लागि होडबाजी चल्नु स्वाभाविक हो । प्रधानमन्त्रीको कुर्सी मात्र नभएर विपक्षी कुर्सीमा को बस्ने भन्ने होडबाजीसमेत कहिलेकाहीँ पेचिलो बन्ने रहेछ भन्ने प्रमाण प्रतिनिधि सभाको बुधबार बसेको बैठक बनेको छ ।

प्रतिपक्षी को भन्ने टुंगो लाग्न नसक्दा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । फागुन १५ गते सरकारबाट बाहिरिएको एमालेले आफ्ना लागि विपक्षी बेन्च माग गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक सूचना जारी गरी १८ दिन पछाडि धकेलिएको हो ।

प्रतिनिधिसभा निर्वाचनअघिको पाँच दलीय गठबन्धन अहिले परिवर्तन भएर आठ दलीय बनेको छ । तर, सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र जनमत पार्टीबाहेक नेपाली कांग्रेससहितका ६ दल सरकारमा सहभागी छैनन् । उनीहरू सबै विपक्षी बेन्चमा बस्दै आएका छन् । त्यसले गर्दा सत्तापक्षमा कम र विपक्षमा धेरै संख्या देखिने भएपछि संसद् बैठक सूचना टाँसेर सारिएको हो ।

बुधबार १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतासँग संसद् बैठकका एजेन्डा तय गरी कार्यसूचीलाई अन्तिम रूप दिन छलफल गरेका थिए । गत १५ गते सरकार छाडेको एमालेले प्रतिपक्षमा बस्ने अडान लिएको थियो । तर, सरकारलाई विश्वासको मत दिए पनि समर्थन नगरेको बताउँदै प्रतिपक्षमा बसेको कांग्रेसले आफू सरकारमा सहभागी नहुँदासम्म प्रतिपक्षमा बस्ने अडान कायम राखेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।