
काठमाडौं । उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरण सम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानविन सुरू गरेको छ ।
गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानविन सुरू गरेको हो । उमेर विवादका कारण डिआइजी अशोक सिंहले बुधबार राजीनामा दिनुभएको थियो । उहाँ लगायत उच्च अधिकृतको उमेर र रोलक्रम सहितको कागजात बाहिर आएको भन्दै कार्यालयले छानविन थालेको हो । प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले गोप्य कागजात बाहिर आएकाले छानविन सुरु भएको बताउनुभयो ।
उहाँले प्रहरी अधिकारीको व्यक्तिगत विवरण अदालत बाहेक अन्यत्र पेश गर्ने प्रचलन नरहेको जानकारी दिनुभयो । कर्मचारी प्रशासन शाखाबाट उक्त कागजात बाहिरिएको भन्दै त्यहाँका प्रहरीमाथि छानविन गरिएको हो । डिआइजी सिंहको उमेर विवादका कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
उजुरी परेपछि उहाँले राजीनामा दिनुभएको हो । सिंह २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको थियो । २०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उहाँको उमेर १८ वर्ष रहेकाे छ । तर उहाँको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ । उहाँले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, वैयक्तिक विवरणमा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख गरिएकाे छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष रहेकाे छ ।
तर गत असारमा डिआइजीमा बढुवा हुँदा नै उहाँ ५५ वर्ष पुगिसकेकाे देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्