ललितपुर । ललितपुरस्थित त्यागलमा रहेको प्रभात माध्यमिक विद्यालयले ५३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
जिल्लाकै उत्कृष्ट मध्यको एक बिद्यालयका रुपमा रहेको प्रभातले वार्षिकोत्सवका अवसर पारेर गणित तथा विज्ञान प्रदर्शनी २०७९ को समेत आयोजना गरेको थियो । प्रदर्शनीमा विद्यार्थीका विभिन्न सिर्जनात्मक सामग्रीहरुको स्टल राखिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्ने प्रयास गरेका थिए । ती सिर्जनात्मक सामग्रीहरु विद्यार्थीहरुले आफ्नै लगानीमा स्थानीय सामग्री प्रयोग गरेर बनाएका थिए ।
वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित ललितपुर क्षेत्र नम्बर –२ का प्रतिनिधि सभा सदस्य प्रेम बहादुर महर्जन, बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार लगायतले नेपालको शिक्षा क्षेत्रबारे आ–आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक देवी प्रसाद दुलालले गुणस्तरीय शिक्षाका लागि बिद्यालय अहोरात्र लागिपरेको बताउनुभयो । उहाँले बिद्यार्थीहरु भोलीका कर्णधार भएका र देश निर्माणमा उनीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि शिक्षक,अबिभावक लगायत सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयमा रहेर लामो समयसम्म सेवा पुरयाउने र सेवा निबृत्त हुने विभिन्न शिक्षक, कर्मचारी लगायतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ललितपुर महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष विनोद महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो । बिद्यालय बिक्रम संवत २०२६ सालमा स्थापना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्