
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप अन्तर्गत दोस्रो दिन शुक्रबार ५ वटा स्वर्ण पदक जित्न सफल भएको छ ।
ललितपुर सातदोबाटोस्थित कराँते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लवले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लवले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको हो ।
प्रतियोगिताको पहिलो दिन बिहीवार पुलिसले ३ र एपिएफ क्लजले २ वटा स्वर्ण पदक जितेको थियो । १७ इभेन्ट्स मध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ८, एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ । प्रदेशका टोलीले भने अहिलेसम्म स्वर्णको खाता खोल्न सकेका छैनन् । प्रतियोगिताको अन्तिम दिन ५ वटा इभेन्ट्समा प्रतिष्पर्धा हुने छ ।
पुरुष कुमुते ६० केजी तौल समूहमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कास्य पदक जितेका छन् । यसअघि शुक्रवार नै नेपाल पुलिस क्लवकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपिएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेस प्रदेशकी खुस्बु खड्काले काँस्य पदक प्राप्त गरिन । पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।
त्यसमा एपिएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कास्य पदक जितेका थिए । त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लवकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जित्दा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र वागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरिन् ।
यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए । त्यसअघि पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभूषा थापा रजत तथा रोजिता ढुंगेल र वागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे ।
त्यस्तै दिनको पहिलो खेलमा पुलिसका सञ्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा वागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले काँस्य पदक प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्