Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


एमाले सचिवालय बैठक : दुईमहिने ‘मिसन ग्रासरुट’ अभियानसहित गाउँ पुग्दै नेता


182
Shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत महिनाभरि देशैभरि एकैसाथ हुनेछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले दुईमहिने मिसन ग्रासरुट अभियान देशैभरि सञ्चालन गर्ने निर्णय गरेको हो । सो अभियानबाट पार्टीको संगठनमा नयाँ ऊर्जा थपिने विश्वास नेताको छ ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीले १ फागुनबाट मिसन ग्रासरुट अभियान सञ्चालन हुने जानकारी दिए । ५ फागुनमा सातवटै प्रदेश अभियानमा खटिने नेतालाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । पार्टीको संगठन सुदृढीकरणको दुईमहिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको उपमहासचिव ज्ञवालीले बताए ।

‘सातै प्रदेशमा अभियानमा खटिने साथीको अभिमुखीकरणबाट सुरु हुनेछ र अभिमुखीकरणको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुहुनेछ’ उपमहासचिव ज्ञवालीले भने, ‘सात जना उपाध्यक्ष एक एक प्रदेशमा जानुहुनेछ र यो दुईमहिने अभियानपछि पार्टी फरक ढंगले जाने विश्वास गरिएको छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।