
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ ।
सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले प्रयोग गर्दै आएको पुरानो नागरिकता अमान्य हुने फैसला गरेपछि सोही प्रमाणपत्र प्रयोगबाट भएका सबै कामको वैधानिकतामाथि चौतर्फी रूपमा प्रश्न उठ्न थालेको हो । सोही प्रमाणपत्र प्रयोग गरेर लामिछानेले नेपाली राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), कम्पनी दर्ता, स्थायी लेखा नम्बर (पान नम्बर) लगायत प्रमाणपत्र बनाएका छन् । यी सबैको आधिकारितामाथि अनेकन् प्रश्न उठिरहेका छन् ।
यीबाहेक लामिछानेले सोही नागरिकता प्रयोग गरेर उपभोग गरेको ‘राजनीतिक अधिकार’माथि गम्भीर प्रश्नचिन्ह उठेको छ । त्यही नागरिकता प्रयोग गरेर उनले मतदाता नामावलीमा नाम समावेश गरेका छन्, राजनीतिक दल खोलेका छन्, उम्मेदवार बनेका छन् र निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्रीसमेत बन्न भ्याएका छन् ।
यो यात्रा तय गरिसकेपछि आएको सर्वोच्चको फैसलाले उम्मेदवार बन्न चाहिने योग्यता नपुगेकाले सांसद पद खारेज गरेको थियो । वैधानिक नागरिक नै नभएपछि उपप्रधान तथा गृहमन्त्री र रास्वपाको सभापति पदबाट उनी बाहिरिएका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्