सुस्ता बचाउ अभियानका संयोजक गुरूङको निधन « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


सुस्ता बचाउ अभियानका संयोजक गुरूङको निधन


52
Shares

नवलपरासी । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ ।

मस्तिष्क घात भएर गत पुस ८ गतेदेखि भइरहवा मेडिकल कलेजमा उपचारका क्रममा ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको हो । भारतले पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाईमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङले २०५५ सालदेखि भारतले गर्दै आएको पटक-पटकको अतिक्रमण कार्य रोकिनुपर्ने, अतिक्रमित भूमि फिर्ता हुनुपर्ने र स्थायी सीमा स्तम्भ स्थापनाको माग राख्दै सरकारलाई दवाव दिदैं आउनुभएकाे थियाे । आर्थिक अवस्था कमजोर हुनुभएका गुरूङको उपचारका लागि बुटवल र नवलपरासीमा अभियान समेत सञ्चालन गरिएको थियो ।

उपचारमा हालसम्म करिब ७ लाख बढी खर्च भएको उहाँकाे परिवारले बताएकाे छ । सरसपाट गरेर लिइएको रकम अस्पताललाई तिरेर शव घर ल्याइएको परिवारले बताएका छन् । गुरुङकका श्रीमती, २ जना छोरी र एक जना छोरा रहेका छन् ।

सुस्ताको कुल ४० हजार ९ सय ८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयाे । १९ हजार ४ सय ८० हेक्टरलाई भारतले विवादित भनेर दावी गरेपछि अहिले सोही क्षेत्र कसैले पनि भोगचलन नगरेको जयसवालले बताउनुभएकाे हाे ।

सुस्ता गाउँपालिका–५ मा पर्ने नारायणी नदी पारिको सुस्ता गाउँमा हाल ३ सय २५ घरधुरीमा ३२ सय जनसंख्याको बसोबास रहेकाे छ । नारायणी नदीबाट डुंगा चढेर जानुपर्ने सुस्तालाई ३ तिरबाट भारतीय भूमिले घेरेको छ ।