लगानी र योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेन : घिसिङ « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


लगानी र योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेन : घिसिङ


52
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताउनुभयो । उहाँले मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी परिषद्ले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको बताउनुभयो । उहाँले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरु अघि सारेको बताउनुभयो ।

उहाँले राज्यले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढीरहेको बताउनुभयो । उहाँले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको बताउनुभयो । उहाँले खेलाडीको मेहनत, लगावका आधारमा मेहनती खेलाडीलाई एक करोड रुपैयाँसम्मको लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको बताउनुभयो ।

सदस्यसचिव घिसिङले खेलाडी छनोट भनसुनका आधारमा गर्न थालेपनि राष्ट्रले शर्मनाक हार व्यहोर्ने बताउनुभयो । उहाँले अझैपनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको बताउनुभयो ।