२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


सडक विभागले स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने


143
Shares

काठमाडौं । सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ ।

स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै विभागले अब राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने तयारी गरेको हो । विभागका प्रवक्ता भीमार्जुन अधिकारीले स्थानीय सडकका पुलको ठेक्का हस्तान्तरण तथा पर्याप्त बजेट नहुने भएपछि आगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका नयाँ पुल निर्माणको काम नगर्ने गरी छलफल अघि बढेको बताउनुभयो ।

“अगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका पुल निर्माणको काम विभागले नगर्ने गरी छलफल गरी बढेको छ, बजेट पनि सोहीअनुसार बिनियोजन हुन्छ”, उहाँले भन्नुभयो, “अब स्थानीय सडकमा पर्ने पुल स्थानीय तह, प्रदेश वा स्थानीय पूर्वाधार विभागले गर्नेछन् ।” सडक विभागमा राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणको जिम्मेवारी भएपनि अहिले स्थानीय तहका पुल निर्माण पनि विभाग अन्तर्गत भइरहेको उहाँको भनाइ छ ।

विभाग मातहतमा हाल मुलुकभर एक हजार दुई सयको हाराहारीमा पुल निर्माणधिन अवस्थामा छन् । जसमध्ये झन्डै नौ सय पुल स्थानीय सरकार अन्तर्गतका हुन् । एकै पटक धेरै पुल निर्माणको जिम्मेवारी हुँदा विभागले अपेक्षाकृत रुपमा काम गर्न नसकेको उहाँको भनाइ छ । जनशक्तिलगायत स्रोत तथा साधन सीमित हुँदा समयमै पुल निर्माण नहुने अवस्था देखिएको विभागको भनाइ छ ।

विभागले ठूला र जटिल सडक तथा पुल निर्माण गर्नुपर्नेमा स्थानीय सडकका स–साना पुल निर्माणमै लाग्नुपरेको सडक विभागका पुल महाशाखामा कार्यरत इञ्जिनियर कमलकुमार बस्नेतको भनाइ छ । विभागले रणनीतिक पुल निर्माणमा मात्रै केन्द्रित हुने उद्देश्यले गत वर्षदेखि स्थानीय पुल हस्तान्तरण गर्न खोजे पनि नसकिएको उहाँको भनाइ छ ।

“सडक विभागमा निर्माण गर्नुपर्ने पुलको सङ्ख्या बढ्दै जाँदा बोझ थपिएको छ”, उहाँले भन्नुभयो, “नयाँ स्थानीय पुल अन्य निकायमार्फत् निर्माण गर्ने गरी छलफल भइरहेको छ ।” उहाँका अनुसार आगामी आवको बजेटमा सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार महाशाखाले निर्माण गर्ने गरी छलफल भइरहेको हो । हाल स्थानीय पूर्वाधार विभागले झोलुङ्गे पुललगायत स्थानीय स्तरमा आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

विभागसँग ठूलो सङ्ख्यामा निर्माणाधीन पुल भए पनि बजेट भने निकै कम विनियोजन हुने गरेको शाखाको गुनासो छ । निर्माणाधीन पुलमध्ये दसौँ वर्ष पुरानो ठेक्का रहेका पुल पनि छन् । उहाँले रू. पाँचरदश करोड लागत लाग्ने पुलमा एउटा आर्थिक वर्षमा रू. ५० लाख मात्रै बजेट बिनियोजन हुँदा काम गर्न समस्या भएको बताउनुभयो । “झन्डै एक सयवटा पुल निर्माणमा बजेटको समस्या छ, पर्याप्त बजेट नहुँदा समयमै काम गर्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “बर्सेनि रकम छुट्याए जस्तो देखिए पनि बजेट अभावमा काम पूरा हुन सकेको छैन ।”

विभागका अनुसार प्रत्येक वर्ष औसतमा करिब चारदेखि पाँच हजार वटा पुल निर्माणको माग हुन्छ । खासगरी जनप्रतिनिधिहरुबाट पुलको माग बढी आउने गरेको उनको अनुभव छ । विभागका अनुसार झण्डै एक सय पुलको डिजाइन हुने क्रममा छन् । त्यस्तै एक सय ६० पुल भने निर्माण कम्पनी आफैँले निर्माण गर्ने गरी ‘डिजाइन एण्ड बिल्ड’मार्फत् अघि बढाइएको इञ्जिनियर बस्नेतले बताउनुभयो ।

विभागले खासगरी एक सय मिटरभन्दा लामो पुलहरु ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत् अघि बढाइरहेको बस्नेतले जानकारी दिनुभयो । यस्ता ठेक्कामा निर्माण कम्पनीले पहिलो छ महिनामा डिजाइन गरेर त्यसपछि काम सुुरु हुने गरेको छ । यो प्रक्रियामार्फत् काम गर्दा बढी प्रभावकारी हुने देखिएको उहाँले बताउनुभयो । यसमा ‘क’ वर्गको निर्माण व्यवसायीले आफैँ लगानी गरेर काम गर्ने गर्छन् ।

विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार विभाग मातहतमा हाल एक हजारभन्दा बढी पुल निर्माणाधीन अवस्थामा भएको र पर्याप्त बजेट अभावमा समस्या भइरहेको छ । उहाँले पुल निर्माण जति वर्षमा पूरा हुने हो सोही अनुसार बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो ।

“निर्माण सम्पन्न भएका पुलको हकमा भुक्तानी दिन रकम अभाव हुने र बचत भएमा रकमान्तर गरेर दिने गरिएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म जहाँ बचत छ रकमान्तर गरेर र जहाँ कम छ त्यहाँ अर्थ मन्त्रालयले थप निकास गरेर भुक्तानी भइरहेको छ ।” गत आवमा विभागले दुई सय ८२ सडक पुल सम्पन्न गरेको थियो । तीन सय पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा प्रगति ९४ प्रतिशत रहेको थियो ।