कोमल शेरचन/लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, भदौ १२ । काठमाडौंको खुलामञ्चको एक भागलाई अस्थायी बसपार्ककारुपमा प्रयोग गरिएको छ ।
तर, यही बसपार्क पनि स्तरोन्नतिका लागि रोक लगाइएपछि यात्री र बसचालकले अप्ठ्यारो व्यहोर्नुपरेको छ ।
अस्थायीरुपमा प्रयोगमा ल्याइएको काठमाडौंको खुलामञ्चको बसपार्क मंगलबारदेखि चार दिनसम्मका लागि अर्थात् आगामी शुक्रबारसम्मका लागि प्रयोगमा रोक लगाइएको छ ।
पुरानो बसपार्कको टावर बनाउन भन्दै उपत्यका र अरनिको राजमार्ग भएर चल्ने गाडी खुलामञ्चमा पार्किङ गर्नेगरी सारिएको थियो ।
तर, यो खुलामञ्च पनि मर्मत गर्नुपर्ने भन्दै गाडी पार्किङ गर्न रोक लगाइएको हो ।
लगातारको वर्षाका कारण अहिले खुलामञ्चको बसपार्क हिलाम्मे भएको छ ।
आगामी भदौ १४ र १५ गते हुन लागेको बिम्स्टेकको सम्मेलनकाक्रममा सवारीको चाप कम हुने भएकाले खुलामञ्चको यो भाग स्तरोन्नति गर्न लागिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजकुमार लम्सालले जानकारी दिए ।
चार दिन यहाँबाट यातायात सन्चालनमा रोक लगाएपनि यहाँबाट चल्ने गाडीहरु भने कोटेश्वर र नयाँ बसपार्कबाट चल्ने व्यवस्था मिलाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरभित्रका बस तथा माइक्रोबसले भने रत्नपार्कमा यात्री चढाउने र ओराल्ने गरिएको उनले जानकारी दिए ।
गाडी चढ्न एकातिर जानुपर्ने तर बसको टिकट लिन भने यात्रीलाई खुलामञ्च नै पुग्नुपर्ने भएको भन्दै सेवाग्राहीले गुनासो पनि पोखे ।









प्रतिक्रिया दिनुहोस्