जलवायु परिवर्तनले माघमै फुले लालीगुराँस « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


जलवायु परिवर्तनले माघमै फुले लालीगुराँस


793
Shares

बझाङ । चैत वैशाखमा महिनामा फुल्ने लालीगुराँस माघ महिनामा फुलेको छ । अहिले सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी, अछाम, डडेल्धुरा लगायतका जंगलहरुमा लालीगुराँस फुलेको पाइएको हो ।

पहिले पहिले फागुन महिनाको दोस्रो साताबाट लालीगुराँसको कोपिला लाग्न सुरु हुने तर अहिले फागुन महिनासम्ममा लालीगुराँस फुलेर सकिने थलारा–९ का स्थानीय बताउँछन् ।

पहाडमा पाइने काफल, ऐसेलु, त्रिमुडा, मछाईदा, डिम्मुर, घँगारु जस्ता जङ्गलीफल पनि बेमौसममा नै फल्न सुरु भएको र फल्ने समयमा फलेर सकिने गरेको उनीहरुले बताएका छन् ।

‘लालीगुराँस फूल फागुन–चैत महिनामा फूल्ने गर्दथ्यो । तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ । मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले भन्नुभयो, ‘गुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको प्रभाव देखिएको छ । पुस माघ महिनामा गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय तथा जलवायु परिवर्तको असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।’

चैत्र बैशाखमा फुल्ने लालीगुराँस पुसमा नै फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुको कारण विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको असरले भएको बोटानिष्ट टियुका प्रोफेसर डा. नारायण घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वब्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तन हो । जलवायु परिवर्तनको मुख्य कारण मानविय गतिविधी हुन् । जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको पाईन्छ । जलवायु परिवर्तनको असर एउटै लालीगुराँसमा मात्रै नभई हरेक क्षेत्रमा परेको छ । तराईमा पाईने विभिन्न प्रजातीका फलफुल, बोटविरुवा आदि पहाड क्षेत्रमा पाईन सुरु भएको छ । बोट विरुवा तथा जीवजन्तुले पनी ठाउँ परिवर्तन गर्न थालेका छ । जुन मौसममा पाईन्थे । जुन समयमा फल्ने तथा फुल्ने गर्थे त्यो समय पनि परिवर्तन भएको पाईन्छ । यसले सामाजिक देखि आर्थिक रुपमा पनि असर पारेको पाईन्छ । सामान्य उदाहरणमा भन्ने हो भने लालीगुराँस फुल टिपेर विक्री गर्ने परिवार हुन्छन् । त्यस्तै, कृषि क्षेत्रमा पनि यसले असर पारेका कारण जलवायु परिवर्तनले आर्थिक, सामाजिक, धर्म प्रणालीमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको हो ।’

विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भइरहेको डा.घिमिरेको भनाइ छ ।