१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कान्ती बाल अस्पतालमा गुणस्तरीय सेवा दिन स्वास्थ्यमन्त्री गिरीको निर्देशन


156
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ती बाल अस्पताललाई निर्देशन दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अस्पतालको निरीक्षणका लागि पुग्नुभएका उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय कान्ती बाल अस्पतालमा आइसीयु बेड नपाउने गरेको गुनासोहरु धेरै आएको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसीयु बेडको संख्या बढाउन पनि निर्देशन दिनुभयो ।

उहाँले अस्पताललाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रुपमा सरकारबाट हुने पनि प्रतिवद्धता जनाउनुभयो । उहाँले कान्ती बाल अस्पतालमा उपचारका लागि आएका बिरामीहरु बेड नपाएका कारण बाहिर जानुपर्ने अवस्थाको पूर्ण रुपमा अन्त्य हुनुपर्ने बताउनुभयो ।

मन्त्रालयका कर्मचारीहरुले भने इक्वीपमेण्ट र ठाउँ प्रशस्त भएपवनि आवश्यक जनशक्ति नभएको गुनासो गरेका थिए । मन्त्री गिरीले कोही पनि बालबालिकाहरु उपचार गर्न आउँदा उपचार नपाएर बाहिर जाने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री गिरीले आजै राष्ट्रपति भवनमा शपथग्रहण गरी मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।