बजारमा माघे संक्रान्तिका लागि तरुल र चाकु किन्नेकाे भिड « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


बजारमा माघे संक्रान्तिका लागि तरुल र चाकु किन्नेकाे भिड


65
Shares

काठमाडौं । माघेसंक्रान्ति सुरु भएसँगै बजारमा तरुल र चाकु किनबेच गर्नेहरुको भिड भएको छ ।

माघे संक्रान्तिको दिन तरुल, चाकु तथा घ्यू खाने चलन छ । उपभोक्ताहरुले केही दिन अघिबाटै संक्रान्तिका लागि तरुल, पिँडालु, स्कुसको जरा, सखरखण्ड, चाकु , तिलोरा र भुजाको लड्डु लगायतका खानेकुराको जोहो गर्छन् । माघको ठिहीमा कन्दमुलको आहार स्वास्थ्यवद्र्धक हुने विश्वास गरिन्छ ।

उपत्यकाका कालिमाटी तरकारी बजार सहित उपत्यकाका सानाठूला तरकारीबजार तथा पसलमा अहिले तरुलको चाङ लागेको छ । माघेसक्रान्ति सुरु भएदेखिनै उपत्यकामा ठूलो मात्रामा कन्दमुलहरु भित्रिएका छन् ।

सक्रान्ति सुरु हुनु अगाडि नै उपभोक्ताहरुले विभिन्न प्रकारका तरुल, पिँडालु, स्कुसको जरा र सखरखण्ड लगायतका कन्दमुलहरु खरिद गर्दै आएका छन् । कालीमाटी बजारमा एक साताअघिदेखि स्वदेशी र भारतीय कन्दमुल भित्रिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।

हालसम्म बजारमा करिब १८ सय टन कन्दमुल भित्रिएको समितिको भनाइ छ । उपत्यकामा हालसम्म भित्रिएको कन्दमुलमा सबैभन्दा ठूलो परिमाणमा तरुल भित्रिएको छ । अघिल्लो बर्षहरुमा भारतबाट ठूलो मात्रामा तरुल भित्रिएपनि यो बर्ष ८ प्रतिशत कन्दमुल भारतबाट भित्रिएको हो भने बाँकी स्वदेसी उत्पादन रहेको छ । उपत्यकामा सर्वाधिक तरुल सर्लाही र सुनसरीबाट आउने गरेको छ । यता, विगतको तुलनामा कन्दमुलको भाउ बढेको व्यापारीहरुले जानकारी दिएका छन् ।

माघेसंक्रान्तिमा तरुल लगायतका कन्दमुल खाने परम्परा रहेको छ । सामान्यतया माघेसंक्रान्तिमा पुसमा उसिनेको कन्दमुल माघे संक्रान्तिमा खाने गरिन्छ भने नैबेद्यका लागि सोही दिन नै उसिनेर चढाउने भएकाले पुसको अन्तिमदेखि माघको पहिलो दिनसम्म कन्दमूलको माग रहने गर्दछ ।

त्यस्तै, माघे संक्रान्तिमा चाकुको व्यापार त उच्च रहने गर्दछ । कन्दमुलसहित सख्खर, चिनी र तिलको प्रयोगबाट बन्ने चाकु सहित तिलौरालगायतका यी मिठाई माघे संक्रान्तिमा खास मानिन्छ । सामान्यतया नेवार समुदायमा प्रयोग गरिन चाकु पछिल्लो समयमा अरु समुदायमा पनि माघेसंक्रान्तिको दिन प्रयोग गरिन्छ ।

बजारमा चाकुको मूल्य २ सय ५० देखि ३ सय रुपैयाँ सम्म छ । चाकु काठमाडौको टोखा तथा पाटन क्षेत्रमा उत्पादन गरिन्छ । कन्दमुल तथा चाकुजन्य बस्तुको पहाडी क्षेत्रमा संक्रान्तिको दिन माग भएपनि तराईमा संक्रान्तिको दोस्रो दिन अर्थात माघीका दिन पर्व मनाउने गरिन्छ ।