चलचित्र ‘ह्यारीकी प्यारी’ मोफसल टूर « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


चलचित्र ‘ह्यारीकी प्यारी’ मोफसल टूर


78
Shares

काठमाडौं । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र मोफसल टूरमा निस्किएको छ ।

पश्चिम नेपालको नेपालगंजदेखि अनौपचारिक रुपमा सुरु भएको टूर चितवनबाट औपचारिक रुपमा अगाडी बढ्नेछ । डा. कपिल रिजाल निर्देशित चलचित्रको टिम शनिबार बिहान पर्यटकीय नगरी चितवन पुगेको छ ।

चितवनमा दिउँसो १२ बजेदेखि निर्माण टिम प्रचारका बिभिन्न माध्यमसँग जोडिनेछ । त्यहाँ चितवन महोत्सवमा दर्शक माझ पुग्ने र चितवनका मिडियासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

मोफसल टूरमा निर्देशक रिजालसंगै, जितु, साम्राज्ञी, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको साथ रहनेछ । साथै टूरमा गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सहभागी हुनेछन । टूरमा यी कलाकारहरुको प्रस्तुति हेर्न पाइनेछ ।

माघ ७ गतेसम्मको सेड्युल तय गरिएको टूर चितवनपछि पर्साहुँदै पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर टुंगिनेछ ।यी शहरहरुमा निर्माण टिमले महोत्सवसँगै बिभिन्न क्याम्पस, मल र मिडियासँग अन्तरक्रिया गर्नेछ ।

विर्तामोडपछि राजधानी फर्किएर टिमले काठमाडौं उपत्यकामा बिभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने सेड्युल तय गरिएको छ । माघ २० देखि अलनेपाल प्रदर्शनमा आउन लागेको चलचित्रमा जितु र साम्राज्ञी शिर्ष भूमिकामा छन् ।

चलचित्रमा सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढावलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।निर्देशक रिजालकै कथा रहेको यस चलचित्रमा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल र शिखर सन्तोषको संगीत रहेको चलचित्रमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा डा. भोला रिजालको निर्माण छ । चलचित्रको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।