सिन्धुली । सिन्धुलीको सुनकोशी र गोलन्जोर गाउँपालिका तथा चुरेभावर क्षेत्रका मानव बस्तीमा बाँदरहरूले आतंक मच्चाएका छन् ।
जसले स्थानीय वासीन्दाहरुलाई त्रसित बनाएको हाे । चिसो मौसममा जंगलमा रहेका बाँदरहरुले खान नपाउदा स्थानीय वासीन्दाहरुको घरमा पसेर अन्न खान र लैजान थालेपछि स्थानीय त्रसित बनेका हुन् । रामेछाप जिल्लाबाट सुनकोशी नदी तरेर सिन्धुलीमा आएका बाँदरको हुल झुण्डले सुनकोशी र गोलन्जोरका केही स्थानीय वासीन्दाहरुलाई आक्रमण समेत गरेको सुनकोशी-७ का ललित गोलेले बताएका छन् ।
दिउँसोको समयमा आउने बाँदरहरुको हुलले स्थानीय किसानहरुको घरबाट मकैको झुत्ता झिकेर खाने र लैजाने गरेको सिन्धुलीका चुरे भावर क्षेत्रका स्थानीयले बताएका छन् । बाँदरहरूलाई स्थानीय तह, प्रदेश र संघीय सरकारले सोही स्थानबाट तत्कालै बाँदर धपाउने व्यवस्था नमिलाए गाउँघरमा सुरक्षित बस्न नसकिने स्थानीयले बताएका छन् ।
जलवायु परिवर्तनका तराईमा अत्याधिक चिसो र शित लहर भएका कारण तराईको महोत्तरीको खयरमारा र सर्लाहीको सागरनाथ वन क्षेत्रबाट समेत हुल बाँधेर चुरे पहाड पार गरी बाँदरहरु सिन्धुलीमा पसेको वन कर्मचारीले बताएका छन् । खान नपाएर भोकाएका बाँदरहरुले घर र घरमा पसेर बाल बालिका तथा बृद्व-बृद्वाहरुलाई पिट्ने चिथोर्ने गरेका छन् । हुल बाँधेर आएका बाँदरहरुका कारण घर-घरमा पालिएका कुकुरहरु समेत डराउने गरेका छन् ।
जंगलमा बस्ने बाँदरहरुलाई खाने कुरा समेत नभएका कारण बाँदरहरु गाउँघरमा पसेर आतंक मच्चाएको अनुमान डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्