काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति शिर्ष क्लबहरु आर्सनल र लिभरपुल विजयी भएका छन् ।
लिग टेबलको शिर्ष स्थानमा रहेको आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले र लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेका हुन् ।
आफ्नै मैदानमा भएको लण्डन डर्बीमा आर्सनललाई विजयी गराउन बुकायो साका, ग्याब्रियल मार्टिनेली र इडवार्ड एन्केतियाले एक एक गोल गरे ।
वेष्ट ह्यामका ज्यारेड बोवेनले पहिलो गोल गरेपनि टोलीले अग्रता जोगाउन सकेन ।
खेलको २७ औं मिनेटमा बोवेनले गोल गर्दै वेष्ट ह्यामलाई सुरूवाती अग्रता दिलाए । ५३ औं मिनेटमा आर्सनलका साकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ५८ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यसपछि ६९ औं मिनेटमा इडवार्डले गोल गर्दै आर्सनललाई जित दिलाए ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको छ । लिभरपुलको लागि मोहोमद सलाह, भर्जिल भान डाइक र स्टेफेन बाजेटिकले एक एक गोल गरे । भिल्लाका ओली वाट्किन्सले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा नै सलाहको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । ३७ औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए । ५९ औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई २–१ को स्थितिमा ल्याए । ८१ औं मिनेटमा बाजेटिकले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
टोटनह्याम हट्सपरलाई ब्रेन्टफोर्डले २–२ गोलको बराबरीमा रोक्दा न्युकासल युनाइटेडले लेस्टर सिटीलाई ३–० ले, ब्राइटनले साउथह्याम्प्टनलाई ३–१ ले, वुल्भरह्याम्प्टन वान्डरर्सले एभर्टनलाई २–१ ले तथा फुल्हमले क्रिष्टल प्यालेसलाई ३–० ले हराएका छन् ।
सोमबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १५ खेलबाट ४० अंक जोडेको आर्सनल शिर्ष स्थानमा रहँदा १६ खेलबाट ३३ अंक जोडेको न्युकासल युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्